शेयर बजारमा दोहोरो अकंको सुधार

शेयर बजारमा दोहोरो अकंको सुधार

कहिरन समाचार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिने चर्चा तथा हिजो बैंकहरूलाई अब मासिक रूपमा ऋणको ब्याजदर परिवर्तन गर्न निर्देशन दिएसँगै बजार बढेको छ ।

राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्न निर्देशन दिएको हो । साथै राष्ट्र बैंकले यही साता मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार १०.६६ अंकले बढेर नेप्से परिसूचक १८४४.३६ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ ।

आज २६९ कम्पनीका २८ लाख ३६ हजार १ सय ३९ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ४७ लाख ६० हजार ६ सय ४७.०७ रुपियाँ बराबरको कारोबार भएको हो । सोमबार १६.९३ अंकले बजार घट्दा ८२ करोड ४२ लाख १७ हजार १.८५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज पिपुल्प पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४७ प्रतिशतले नाफा कमाएका छन् । कम्पनीको शेयर मूल्य रू. २६९.८० पुगेको छ । त्यस्तै दोस्रोमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य ४.६५ प्रतिशत बढेर रू. ७२० पुगेको हो ।

नेप्सेका अनुसार आज यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.६८ प्रतिशतले घाटा ब्यहोरेका छन् । कम्पनीको शेयर मूल्य ८.६८ प्रतिशत घटेर प्रतिकित्ता रू. १५११.३० मा झरेको छ ।

आज हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ९६ लाख २५ हजार ९ सय १३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ४ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

आज १३ ओटै समूहगत परिसूचक बढेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी १.९४ प्रतिशत बढेको हो ।