यो वर्ष खाद्यान्न संकट हुने, जोहो गर्न विज्ञको सुझाव

यो वर्ष खाद्यान्न संकट हुने, जोहो गर्न विज्ञको सुझाव

कहिरन समाचार

काठमाडौं । विज्ञहरूले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षा याममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमीलगायत अन्य समस्याहरू सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन् ।

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षा याममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्वतयारी थाल्नुपर्ने सुझाव दिए । उनले गहुँ, धान, मकै लगायतका बालीहरूमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए ।

उनले वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उतारचढावका कारण कम वर्षा हुने बताए । यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरू घट्ने बताए । उनले दक्षिण एसिया क्षेत्रमा यसपटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए ।

विज्ञ डा. उप्रेतीले जलवायु परिवर्तनका कारण वर्षा कम हुँदा कृषि उत्पादकत्व घट्ने हुनाले सबैले समयमा नै खाद्यान्नको जोहो गर्न आग्रह गए ।

विज्ञ डा. उप्रेतीले भने, ‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो । अत्यन्तै न्यून वर्षा हो । त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारी अनुसार गहुँको मूल्य ह्वात्तै बढेको छ । किनभने यसपटक उत्पादन नहुने देखे पनि व्यापारीहरूले गहुँको मूल्य बढाइसकेका छन् । त्यसको सीधा असर गहुँ आयात गर्नुपर्ने देखिएको छ ।’

उनले थप भने, ‘यतिबेला केही मात्रामा वर्षा भए पनि जुन महिनाको जब वर्षायाम आउँदैछ, वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढाव छ, लालिना कण्डिसन पहिला थियो, त्यो अन्त्य हुने अवस्था छ । एलिनो भन्ने त्यसको ठिक अपोजिट अवस्था हो, त्यो अवस्था देखिँदै छ, यो अवस्था देखिएका पछिल्ला धेरै वर्षको इतिहास हेर्ने हो भने सुक्खा र खडेरी भएको अवस्था नेपालको इतिहाले देखाउँछ । भारतले पनि यस वर्षको वर्षायाममा औषतभन्दा कम वर्षा हुने भनेर प्रक्षेपण गरिसकेको अवस्था छ । अमेरिकाको नेवा भन्ने संस्थाले पनि त्यसलाई प्रमाणित गरिसकेको छ ।’