अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्छ : अर्थमन्त्री महत

अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्छ : अर्थमन्त्री महत

कहिरन समाचार

बागमती । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

आज राष्ट्रियसभामा पेस भएको सार्वजनिक महत्त्वको प्रस्तावमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताएका हुन् ।

अर्थमन्त्री महतले ‘अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या नभएको बताउँदै सामूहिकरूपमा समाधानतर्फ जानुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उनले बताए ।

मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको दाबी गर्दै अर्थमन्त्री महतले सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउनसक्ने अवस्थामा रहेको जिकिर गरे ।

उनले भने, ‘अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौँ । अहिले देखिएका समस्यालाई हल गर्न सक्छौँ । त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ । अवश्य पनि समस्याका चाङ छन् । सबै समस्यालाई हटाउन केही समय लाग्छ । केही धैर्यको आवश्यकता पर्छ ।’

उनले अर्थतन्त्रमा बाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गरेको बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि, आयात प्रतिबन्धका कारण समस्या आएको बताए ।

अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकार भित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको सुनाए । अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा पुनःविचार गर्ने र मौद्रिक नीतिका यन्त्रहरू प्रयोग गरी शेयर बजार र अर्थतन्त्रलाई चलायमान बनाउने योजना रहेको बताए ।