शेयर बजारमा दोहोरो अकंको वृद्धि

शेयर बजारमा दोहोरो अकंको वृद्धि

कहिरन समाचार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा पुगेको छ ।

आज सेन्सेटिभ इन्डेक्स १.१९ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव ९९ प्रतिशत बढेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स १.३१ प्रतिशत वृद्धि भएको हो । आज २६४ धितोपत्रको २७ लाख ५७० कित्ता २७ हजार ७६६ पटकमा रू. ८८ करोड ५५ लाख बराबर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये तारागाउँ रिजेन्सी होटेल लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ८ प्रतिशत वृद्धि भएर रू. ५४० पुगेको छ । त्यस्तै दोस्रोमा खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.८५ प्रतिशत बढेर रू. ९२७.५० पुगेको छ ।

यस्तै सनराइज ब्लूचिप फण्डका इकाईधनीले सर्वाधिक गुमाएका छन् । फण्डको मूल्य १० प्रतिशत घटेर इकाई मूल्य रू. ८.५५ मा झरेको हो । त्यस्तै दोस्रोमा सनराइज फोकस्ड इक्वीटी फण्डको इकाई मूल्य ४.८८ प्रतिशत घटेर रू. ७.८० कायम भएको छ ।

यस्तै सर्वाधिक कारोबारमा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ७ करोड बराबर कारोबार भएको हो । त्यस्तै दोस्रोमा कालिञ्चोक दर्शन लिमिटेडको रू. ३ करोड १ लाख बराबर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी १.९२ प्रतिशत वृद्धि भएको छ ।