शेयर बजारमा दोहोरो अकंको गिरावट

शेयर बजारमा दोहोरो अकंको गिरावट

कहिरन समाचार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार दोहोरो अकंले घटेको छ । नेप्से घटेपनि कारोबार रकममा भने झिनो सुधार देखिएको ​ छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स २.७९, फ्लोट इन्डेक्स १.१४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ अंक घटेका छन् ।

बिहीवार २६७ धितोपत्रको ३२ लाख ९ हजार २१४ कित्ता २३ हजार २६५ पटकमा रू. ९८ करोड ३३ लाख बराबर कारोबार भएको छ । हिजो बुधबार १५.१३ अंकले बजार बढ्दा ८७ करोड २१ लाख ४१ ह्जार १ सय १६.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशत वृद्धि भई रू. ८०७.८० पुगेको छ । त्यस्तै दोस्रोमा मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशत बढेर रू. २४९.५० पुगेको छ ।

आज आदर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य रू. १२१५ मा झरेको छ । त्यस्तै दोस्रोमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई मूल्य १० प्रतिशत घटेर रू. ८.६९ कायम भएको छ ।

बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको रू. ५ करोड ७५ लाख बराबर कारोबार भएको हो । दोस्रोमा कुमारी बैंकको संस्थापक शेयर रू. ३ करोड ५३ लाख बराबर कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी वित्त समूहको परिसूचक १.५० प्रतिशत घटेको छ ।