नौ महिनामा व्यापार घाटा ११ खर्ब, निर्यातमा २६ प्रतिशतले घट्यो

नौ महिनामा व्यापार घाटा ११ खर्ब, निर्यातमा २६ प्रतिशतले घट्यो

कहिरन समाचार

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिना (साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक अनुसार आयातसँगै निर्यातमा कमी आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार आयातमा १८ र निर्यातमा २६ प्रतिशतले कमी आएको छ । नौ महिनाको अबधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

अघिल्लो आवको तुलनामा चालू आवको ९ महिनामा १८.८ प्रतिशतले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अबधिमा १४ खर्ब ६६ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

यस्तै, चालू आवको नौ महिनाको अबधिमा एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आवमा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो आवको तुलनामा चालू आवमा २६.३४ प्रतिशतले निर्यातमा कमी आएको हो ।

चालू आवको नौ महिनाको अबधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो । व्यापार घाटामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले कमी आएको हो ।

नौ महिनाको अवधिमा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।