शेयर बजारमा सुधार, कारोबार भने घट्यो

शेयर बजारमा सुधार, कारोबार भने घट्यो

कहिरन समाचार

काठमाडौँ । लगातार चार दिन घटेको बजार बुधवार दोहोरो अकंले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.१३ अंकले बढेर नेप्से परिसूचक १९२०.१२ विन्दुमा बन्द भएको हो ।

बजार बढे पनि कारोबार रकम भने अर्ब मुनि रहेको छ । आज २७३ धितोपत्रको २५ लाख ७९ हजार ३२५ कित्ता २३ हजार ५०३ पटकमा रू. ८७ करोड २१ लाख बराबर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको छ । कालिञ्चोक दर्शनको शेयर मूल्य रू. ७३४.४० र मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर मूल्य रू. २२६.९० पुगेको हो ।

बुधवार सबैभन्दा बढी आदर्श लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य रू. १३५० मा झरेको हो । त्यस्तै दोस्रोमा ग्लोबल आइएमई ब्यालेन्स्ड १ को इकाई मूल्य ३.७३ प्रतिशत घटेर रू. ८ कायम भएको छ ।

यस दिन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरको सर्वाधिक कारोबार रू. ८ करोड ८३ लाख बराबर भएको छ । त्यस्तै सर्वाधिक दोस्रोमा नबिल बैंकको रू. ३ करोड ६६ लाख बराबर कारोबार भएको छ ।

म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ४७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो । विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी १.२७ प्रतिशत बढेको छ ।