सरकारले विद्युत निर्यात गर्ने संयन्त्र बनाउँछ : अर्थमन्त्री महत

सरकारले विद्युत निर्यात गर्ने संयन्त्र बनाउँछ : अर्थमन्त्री महत

कहिरन समाचार

काठमाडौँ । उर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । उर्जा सम्मेलनको समापन कार्यक्रममा उनले बुधबार उर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरे ।

महतले भने, ‘नब्बेको दशकभन्दा अगाडि एक–दुई मेगावट विद्युत उत्पादन हुन्थ्यो । जब निजी क्षेत्र विद्युत उत्पादनमा संलग्न भयो । त्यसपछि राष्ट्रिय प्रसारणमा विद्युत थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो । ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ ।’

उनले थपे, ‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन् । विदेशमा विद्युत निर्यात गर्न थालेको छ । यो हाम्रा लागि खुशीको खबर हो ।’ यसले ऊर्जामा लगानीकर्तालाई आकर्षित समेत गरेको मन्त्री महतको भनाइ थियो ।

उनले नेपालमा उर्जामा लगानी गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्तालाई आव्हान गर्दछु भन्दै लगानीकर्तालाई सहयोग गर्न सरकार तयार रहेको बताए । सरकारले लगानीको प्राथमिकतामा उर्जालाई लिएको हुनाले नेपालमा लगानीकर्तामा आएका समस्या समाधान गर्न सरकार तयार छ रहेको महतले बताए ।

उनले भने, ‘लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले उर्जामा राम्रो भएको छ । नेपालको गतिलो आम्दानीको स्रोत उर्जा नै हो ।’ सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउने बताउँदै महतले विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार भएको बताए ।

बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने उनले बताए । महतले विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए । विद्युत उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरु पाइपलाइनमा रहेको उनले बताए ।

महतले विद्युतीय खपतमा पनि हामी त्यत्तिकै हुन जरुरी रहेको बताए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ भन्दै उनले घरयासी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने बताए ।