काठमाडौंमा आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी

काठमाडौंमा आजदेखि ऊर्जा सम्मेलन, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी

कहिरन समाचार

काठमाडौं । काठमाडौंमा उर्जा सम्मेलन सुरु हुँदैछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ हुन लागेको आठौं ऊर्जा सम्मेलन (पावर समिट) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन होटल हायतमा आज र भोलि दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने इपानका व्यवस्थापक कल्पना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी हुने छन् ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

साथै सम्मेलनमा नेपालको विद्युत् बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूलन विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन पनि गरिने इपानका अध्यक्ष एवम् सम्मेलन संयोजक आशिष गर्गले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा विद्युत्को लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभवका विषयमा पनि छलफल हुनेछ । सम्मेलनका क्रममा लगानी बोर्ड नेपाल तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजना प्रदर्शन गर्ने जनाइएको छ ।

सम्मेलनको संरक्षक ऊर्जा मन्त्रालय र सह–आयोजक लगानी बोर्ड छ । इपानले पावर समिट नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुंगा साबित अपेक्षा गरेको छ ।