निगमले तीनवटा ट्वीनअटर जहाज खरीद गर्ने

निगमले तीनवटा ट्वीनअटर जहाज खरीद गर्ने

कहिरन समाचार

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन वटा जहाज खरीद गर्ने भएको छ । आन्तरिक उडानमा सेवा विस्तार गर्ने लक्ष्यसहित निगमले तीनवटा जहाज खरीद गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरीद गर्ने कार्ययोजना अघि बढाइएको छ ।

निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरीद गर्न लागेको उनले बताए । निगमसँग आन्तरिक उडानका लागि हाल दुई वटा ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ ।

तीन साना जहाज खरीद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । यसका लागि विशेष पहल गरी यथासक्य छिटो जहाज खरीद गरिने निगमले जनाएको छ ।

यसका लागि निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिले कार्य शुरू गरिसकेको निगमले जनाएको छ ।

निगमले नयाँ तीन वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलको भनाइ छ ।