१० मेगावाटको सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

१० मेगावाटको सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

कहिरन समाचार

काठमाडौं । बाँकेमा प्योर इनर्जी प्रालिले निर्माण गरेको १० मेगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । गोल्यान समूहको लगानीमा निर्माण भएको आयोजनाको विद्युत बिहीबार (चैत २३ गते) देखि राष्ट्रिय ग्रिडमा जोडिएको हो ।

बाँकेमा निर्माणाधीन २० मेगावाटका दुई आयोजनामध्ये दोस्रो भाग अर्थात बाँके–२ सौर्य आयोजनाको काम पूरा गरी प्रणालीमा जोडिएको ऊर्जा डिभिजनका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताए ।

आयोजनाको विद्युत १५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको कोहलपूर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

‘हामीले निर्माणाधीन २ मध्ये एउटा आयोजनाबाट विद्युत उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘अहिले नो लोडमा आयोजना प्रणालीमा जोडेका छौं, ट्रान्सफर्मरहरू चार्ज गर्दैछौं, ट्रान्सफर्मरहरूको चार्ज पूरा गर्न थप १२ घन्टा समय लाग्छ ।’ अबको करिब ४८ घन्टापछिबाट प्राधिकरणलाई १५ दिनसम्म निशुल्क विद्युत दिने अवधि सुरु हुनेछ ।

प्राधिकरणसँग सन् २०२१ डिसेम्बरमा नै विद्युत खरिद सम्झौता (पिपिए) गरेपनि ८ महिनाअघि मात्र निर्माण काम सुरु गरिएको थियो । पिपिए लगतै आयोजनाको निर्माण सुरु गर्ने योजना भएपनि कोभिड–१९ महामारीलागायतका कारणले गर्दा प्रभावित भएको अर्यालले बताए । आयोजनाको प्रतियुनिट ७.३० रुपैयाँमा पिपिए गरेको छ ।