सर्वसाधारणका लागि सगरमाथा जलविद्युतको आइपिओ खुल्यो

सर्वसाधारणका लागि सगरमाथा जलविद्युतको आइपिओ खुल्यो

कहिरन समाचार

सर्वसाधारणका लागि सगरमाथा जलविद्युत कम्पनीको आइपिओ आज (बुधबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो।

सो मध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यस्तै, ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेका कम्पनीले जनाएको छ।

सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।
उक्त आइपिओमा छिटोमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ भने उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि चैत २२ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिन्छ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपि आइआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।