शेयर बजारमा ब्याजदरको असर, बजार ५० अंकले बढ्यो

शेयर बजारमा ब्याजदरको असर, बजार ५० अंकले बढ्यो

कहिरन समाचार

काठमाडौँ । ब्याजदरको असर शेयर बजारमा देखिएको छ । नेपाल बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेसँगै त्यसको असर बजारमा देखिएको हो । सङ्घले आगामी चैतदेखि निक्षेपमा ०.४ र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेसँगै शेयर बजार आज उच्च अंकले बढ्को छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५०.०४ अंकले बढेको छ । २.५६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २००२.७० अंकमा उक्लिएको छ ।

आज २६२ कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख ५८ जहार ८ सय २.९१ रुपियाँको कारोबार भएको हो ।

बढेको बजारमा आज शुभम पावर, नेपाल इन्स्योरेन्स, शिवश्री हाइड्रो, अभियान लघुवित्त र जोशी हाइड्रोको शेयर मूल्य क्रमशः ९.९८, ९.४४, ८.५२, ७.५९ र ७.४३ प्रतिशतले बढ्यो ।

त्यसैगरी सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का लगानीकर्ताले ५.८१ प्रतिशतले घाटा व्यहोरेका छन् । आज १५ कम्पनीबाहेक सबैको शेयर मूल्य बढेको छ ।

नेप्सेका अनुसार शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३ सय १७.५० रुपियाँ बराबरको कारोबार भएको हो ।

साताको पहिलो दिन आइतरबार बजार ३०.७७ अंकले तल झर्दा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८ सय ९३.४८ रुपियाँ र मंगलबार १४.४१ अंकले बजार बढ्दा १ अर्ब २० करोड ४४ लाख ९ हजार ४ सय ११.६२ रुपियाँ बराबरको कारोबार भएको थियो ।