१५ गतेदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

१५ गतेदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

कहिरन समाचार

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको हो ।

जसमध्ये कुल सार्वजनिक निष्कासन हुने सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउँने ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् १९ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको प्रकाशित आह्वानपत्रमा उल्लेख छ ।

आईपीओमा छिटोमा १९ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि २९ भदौसम्म थप हुनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङस् नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको लगानी समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ५७ लाख ४० हजार सञ्चित नाफामा रहेको छ ।