मनसुन मत्थर भएसँगै आन्तरिक हवाइ यात्रुको संख्या बढ्न थाले

मनसुन मत्थर भएसँगै आन्तरिक हवाइ यात्रुको संख्या बढ्न थाले

कहिरन समाचार

मनसुन मत्थर भएसँगै आन्तरिक हवाइ यात्रुको संख्या बढ्न थालेको छ।

विशेषगरी असार र साउन महिनामा मनसुन सक्रिय हुने हुँदा हवाइ यात्रुको संख्या घट्ने गरेकाे भएपनि मनसुन मत्थर हुँदै गएपछि यात्रु आवतजावत बढ्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

मनसुन अगाडिसम्म दैनिक १६ हजारभन्दा बढी यात्रुले हवाइ गर्ने गरेकोमा गत साउनमा दैनिक औसत ८ हजार हाराहारीमा यो संख्या झरेको थियो।

हाल आन्तरिक हवाइ उडानले पिकअप लिन थालेको र दैनिक यात्रुकाे संख्या करिब १० हजारमा पुगेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

उनकाअनुसार अहिले नौ वटा एयरलाइन्सले दैनिक दुई सय ५० हाराहारीमा उडान गरिरहेका छन्। यसअघि मनसुन सक्रिय रहँदा दैनिक दुई सय दश वटा उडान हुने गरेको उनले बताए।

‘अफसिजनमा सधै यात्रुको आवतजावत घट्छ, त्यसैले अन्य महिनाको तुलनामा साउनमा यात्रु संख्या घटेको थियो’ उनी भन्छन्, ‘भदौदेखि पिकअप लिइरहेको छ।’

मनसुन सकिने क्रममा रहेको र विभिन्न चाडपर्वहरू नजिकिदैं गरेकाले उडानमा यात्रुको संख्या बढ्न थालेको बुद्ध एयरले जनाएको छ।

‘अहिले चाडपर्वको सिजन चलिरहेकाले पनि बुद्ध एयरमा यात्रु अकुपेन्सी बढेको छ’ कम्पनीका प्रवक्ता दिपेन्द्र कुमार कर्ण भन्छन्, ‘यसअघि अफसिजन हुँदा पनि यात्रुको संख्यामा त्यति ठूलो फरक भने थिएन।’

बुद्धले हाल दैनिक एक सय ४० उडानमार्फत ८ हजार यात्रु बोकिरहेको छ।

यसरी यात्रुको संख्या कम हुँदा एयरलाइन्सले आपसी समझदारीमा उडान मर्ज समेत गरिरहेका छन्। विशेषगरी एउटै गन्तव्यमा पुग्ने एयरलाइन्सले यात्रुको संख्याअनुसार समझदारी गरेर मर्ज गरी उडान गरिरहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

मनसुनको प्रभाव कायमै रहेको र हवाइ यात्रुको संख्या वृद्धि हुन नसकेकाले एउटै उडानमा यात्रुलाई मर्ज गर्ने क्रम चलिरहेको उनको भनाइ छ।

‘वर्खामा यात्रा कम हुन्छ त्यसमा पनि चाडवर्व सुरू भइसकेको छैन’ उनले सेतोपाटीसँग भने, ‘सेप्टेम्बर १५ पछि यात्रु अकुपेन्सी बढ्ने अनुमान छ।’

यती एयरलाइन्सले अफसिजन (मनसुन) मा २३ वटा उडान गरिरहेको छ।

उक्त उडानमार्फत दुई हजार तीन सय हाराहारीमा यात्रु आवतजावत भइरहेका छन्। अन्य समयमा यतिको २८ वटा उडान हुँदा तीन हजार तीन सय यात्रुले यात्रा गर्थे। हाल मुलुकका आठ गन्तव्यमा यतिले उडान गरिरहेको छ।

‘सिजन र अफसिजनमा सबैजसो एयरलाइन्सले उडान संख्या नै घटाउने गरेका छन्’ उनले भने, ‘यात्रु बढे उडान बढ्छ, यात्रु घटे उडान पनि घट्छ।’

उनकाअनुसार अहिले सरदरमा हेर्दा दैनिक यती एयरलाइन्समा मात्र एक हजारभन्दा बढी यात्रुको संख्या घटेको छ। मनसुनपछि यात्रुको चाप बढ्न सकेको छैन।

वार्षिक ३५ हजारले गर्छन् यात्रा

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार वार्षिक करिब ३५ लाख यात्रुले हवाई यात्रा गर्छन्। सन् २०२१ मा ३५ लाख यात्रुले मुलुकभर आवतजावत गरेका छन्।

सन् २०२० को तुलनामा २०२१ मा आन्तरिकतर्फ हवाइ यात्रुको संख्या दोब्बर बढेको देखिन्छ।

तथ्यांकअनुसार आन्तरिक उडानतर्फ १७ लाख ९७ हजार ५३९ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रिएका छन्। सोही अवधिमा १७ लाख ७९ हजार ५३९ यात्रु काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन्।

जबकि २०२० मा कुल १४ लाख ५ हजार ७७७ यात्रुले मात्र आवतजावत गरेका थिए।

२०२१ मा आन्तरिकमा नौ वटा एयरलाइन्स कम्पनीमध्ये पाँच कम्पनीका जहाजले धेरै यात्रु बोकेका छन्।

सबैभन्दा धेरै बुद्ध एयरले १४ गन्तव्यमा ३४ हजार ५३६ उडानमार्फत १९ लाख ३५ हजार यात्रु बोकेको छ।

यती एयरले ८ लाख ६ हजार, श्री एयरले ५ लाख ४५ हजार, सौर्य एयरले एक लाख ३४ हजार र तारा एयरले २२ हजार यात्रु बोकेको छ। त्यस्तै गुण एयरलाइन्सबाट ५६ हजार, नेपाल एयरलाइन्सबाट २० हजार यात्रुले आवतजावत गरेका छन्।

यी उडानका लागि विराटनगर, गौतमबुद्ध, पोखरा र नेपालगञ्ज विमानस्थल सबैभन्दा धेरै प्रयोग भएका छन्।