आजदेखि तीन वटा हाइड्रोपावरको सेयर कारोबार सुरू

आजदेखि तीन वटा हाइड्रोपावरको सेयर कारोबार सुरू

कहिरन समाचार

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार सूचीकृत तीन वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार बुधबारबाट सुरू भएको छ।

मन्दाकिनी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर र अपर सोलु हाइड्रोको सेयर कारोबार आजदेखि खुला भएको हो।

स्पेसल प्रि–ओपन सेसनमा मन्दाकिनी हाइड्रोपावर कम्पनीको पहिलो कारोबार २३७ रुपैयाँ ३० पैसामा खुला भएको छ। नेप्सेले मन्दाकिनीको पहिलो कारोबारका लागि न्यूनतम १०२ रुपैयाँदेखि अधिकतम ३०६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।

सोही रेन्जभित्र रहेर मन्दाकिनीको पहिलो कारोबार भएको हो। कम्पनीको ५८ लाख ८० हजार ३६९ कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको ‘एमएचएल’ संकेतमा कारोबार खुला भएको छ।

यस्तै, श्वेत गंगा हाइड्रोपावर कम्पनीको पहिलो कारोबार २६९ रुपैयाँमा खुला भएको छ। अब यही मूल्यलाई आधार मानेर नियमित कारोबार हुनेछ।

नेप्सले श्वेत गंगाको ओपनिङ रेन्ज न्यूनतम ८९ रुपैयाँ ८८ पैसादेखि अधिकतम २६९ तोकेको थियो। सोही रेन्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला भएको हो।

मंगलबार कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको ‘एसजीएचसी’ संकेतमा सेयर कारोबार खुला भएको छ।

त्यसैगरी, अपर सोलु हाइड्रोको सेयर कारोबार पनि बुधबारदेखि खुला भएको छ। स्पेसल प्रि–ओपन सेसनमा अपर सोलुको पहिलो कारोबार ३३४ रुपैयाँ ६० पैसामा भएको हो ।

यही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको कारोबार ‘युएसएचईसी’ संकेतमा खुला भएको छ।
मंगलबार नेप्सेमा उक्त कम्पनीको १ करोड ३५ लाख कित्ता सेयर सूचीकृत भएको थियो।

नेप्सेले कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०८ रुपैयाँ २१ पैसादेखि अधिकतम ३२४ रुपैयाँ ६३ पैसा तोकेको थियो । सोही रेन्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला भएको हो।