मुर्ति सेलाउने विषयमा झडप, ईशनाथ नगरमा अनिश्चितकालीन कर्फ्यू

मुर्ति सेलाउने विषयमा झडप, ईशनाथ नगरमा अनिश्चितकालीन कर्फ्यू


रौतहट । रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने बिषयमा आज साँझ हिन्दु र मुस्लिम दुई पक्षबीच झडप भएको थियो ।

दुई पक्षबीच भएको झडपले उग्र रुप लिने अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन आज साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

स्थानीय प्रशासनले पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा कर्फ्यू लगाएको छ । घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर हिजो नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए ।

आज स्थानीय प्रशासनको रोहबरमा दुबै पक्षलाई राखेर साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गर्दै मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्तीको मूर्ति सेलाउन लैजान दिने र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति भए पनि केही उच्छृंखल व्यक्तिहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।

मूर्ति सेलाउने बिषयमा झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस्तै महोत्तरीमा पनि कलश यात्राका क्रममा दुइ समुदायबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । सम्सी गाउँपालिका २ पर्सामा महावीर झण्डाको कलश यात्राका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा तीन जना सामान्य घाइते भएका छन् ।

सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।