आजदेखि एनआरएनएको ११ औं महाधिवेशन, अध्यक्षमा चार प्रत्यासी

आजदेखि एनआरएनएको ११ औं महाधिवेशन, अध्यक्षमा चार प्रत्यासी

भीम विश्वकर्मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मलेनको दिउँसो २ बजे होटल सोल्टीमा राष्ट्रपति रामचन्द्र पौडलले उद्घाटन गर्नेछन् । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।

सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनकै दौरानमा आज र भोलि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।

यसैगरी कात्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए । एनआरएनएको अध्यक्ष पदका लागि चारले उम्मेदवारी दिएका छन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका छन् ।

एनआरएनएमा अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ । पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् । सम्मेलनको कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्नुहुनेछ ।