नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

भीम विश्वकर्मा

काठमाडौँ । आज बडादशैं अन्तर्गत नवरात्रको दोस्रो दिन, नवदुर्गामध्येकी ब्रह्मचारिणीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ ।

तपस्यामा लीन हुने भएकाले दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई योगसाधिकाको रूपमा पनि लिइन्छ । आरोग्य र शान्ति प्राप्तिका लागि ब्रह्मचारिणीको आराधना गरिन्छ ।

नवरात्रका अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

यसैबिच घक्तपुरमा घटस्थापनाका दिन गएरातीबाट नौराते अर्थात नवरात्री मेला सुरु भएको छ । हिजो साँझबाट रातीसम्म टोलटोलबाट धिमे बाजा, बासुरी बाजा, छुस्या बाजा लगायतका बाजाहरु बजाएर पूजा लिएर ब्रम्हायणी मन्दिर पुगेर पूर्जा एवं दर्शन गर्ने र मन्दिर परिक्रमा गरिएको थियो ।

घट्स्थापनादेखि नौ दिनसम्म राती शक्तिपीठमा मेला लाग्ने भएकाले नौराते मेला अर्थात नवरात्री मेला भन्ने गरिएको संस्कृतविद ओमप्रकाश धौभडेलले बताए ।

नवरात्री मेलाको पहिलो दिन हिजो ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको छ ।