कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

कहिरन समाचार

 

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । यो आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जोगिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आज मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले प्रदेशसभामा सभामुख गौतमको हस्ताक्षरसहितको बहुमत पुर्‍याइएको सम्बन्धमा पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई कारण देखाउन आदेश दिएको छ ।

‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेश गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ’, अन्तरिम आदेशमा भनिएको छ ।

प्रदेशसभाका सभामुख गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।