कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कहिरन समाचार

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमसहित प्रदेशसभाका ४७ सदस्यको समर्थन रहेको दाबी पेस भएपछि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ जनता समाजवादी पार्टीका एक प्रदेश सांसदको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापाले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ ।

नेकपा एमालेले भने सभामुखसहितको गणनामा भएको दाबी स्वीकार नगर्न प्रदेश प्रमुखलाई आग्रह गरेको थियो । संविधानको धारा १८६ मा उल्लेखित विषयबारे प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराउँदै सभामुख गौतमलाई समेत बोधार्थ दिएको एमालेले २०७९ साल पुस २८ गते प्रदेशसभाको बैठकमा सभामुखले बोलेको कुरालाई पनि स्मरण गराएको थियो ।

संविधानको धारा १८६ मा प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन तर मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ भनेर लेखिएको छ ।