कोशीमा एक मतले मुख्यमन्त्री कार्की पदमुक्त, संघदेखि प्रदेशसम्म एमाले प्रतिपक्ष

कोशीमा एक मतले मुख्यमन्त्री कार्की पदमुक्त, संघदेखि प्रदेशसम्म एमाले प्रतिपक्ष

कहिरन समाचार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसके पछि नेकपा एमाले सबै प्रदेशमा प्रतिपक्षी दल बन्न पुगेको छ । गत मंसिर ४ को चुनावपछि माओवादी केन्द्रसहितको समीकरण बनाएर ४ प्रदेश सरकारको नेतृत्व गरेको एमाले ६ महिनामा सबै प्रदेशबाट बाहिरिएको छ ।

एमाले नेतृत्वको ७ दलीय गठबन्धन संघमा दुई महिना नपुग्दै भत्किए पछि प्रदेश सरकार ढल्न सुरु भएको थियो । एमालेका खगराज अधिकारी गण्डकी, लिला गिरी लुम्बिनी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए ।

सुदूरपश्चिममा रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एक महिनामै ढलेको थियो । गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार वैशाख ११ गते ढलेको थियो ।

पुस १० गते बनेको सातदलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा टुटेको थियो । सुरुआतदेखि नै मधेशमा जसपा र कर्णालीमा माओवादी नेतृत्वको सरकार कायम छ ।

नयाँ गठबन्धन बनेपछि बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री बन्दा कांग्रेसबाट कमलबहादुर शाह सुदूरपश्चिममा, सुरेन्द्र पाण्डे गण्डकीमा र डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्री बन्ने ।

पुस १० गतेको सहमति अनुसार एमाले अब संघ र ६ प्रदेशमा व्यवस्थापिकाको नेतृत्वमा रहेको छ । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सेना रहने छन् ।

कोशी प्रदेशमा उपसभामुख सिर्जना दुनुवार, मधेशमा सभामुख रामचन्द्र मण्डल, बागमतीमा उपसभामुख अप्सरा चापागाइँ, गण्डकीको उपसभामुखमा बिनाकुमारी थापा, कर्णालीमा सभामुख नन्दा गुरुङ र सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरी रहेका छन् ।

कोशी, मधेश र लुम्बिनीमा एमाले पहिलो दल हो । बागमती र गण्डकीमा दोस्रो दल रहेको एमाले कर्णाली र सुदूरपश्चिममा तेस्रो शक्ति हो ।

सरकार गठनमा अन्यौल
कोशी प्रदेशमा भने अब कस सरकार बन्ने भन्ने अन्यौल सिर्जना भएको छ । गत पुस २४ गते नियुक्त भई २५ गते शपथ लिएका हिग्मत कार्कीले एक सांसदको मत नपुगेपछि १७३ दिनमा सत्ता छोड्नुपरेको छ । अहिलेको सत्ता गठबन्धनको पनि बहुमत नभएकाले नयाँ सरकार बन्न सक्ने सम्भावना भने क्षिण मात्रै छ ।

सभामुखलाई जोडेर सरकारमा दाबी पेश गर्न नमिल्ने भन्दै एमालेले अब संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नयाँ सरकार गठनका लागि आह्वान हुनुपर्ने माग गरेको छ ।

विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण अब उपधारा (३) अनुसार सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ ।

उपधारा ३ मा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ । एमाले प्रदेशको सबैभन्दा ठूलो दल हो ।

९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा ४३ मत खसेको छ ।

गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित रहे । एमालेले प्रदेशको नाम फेर्न नमानेकाले विश्वासको मत नदिएको उनले प्रतिक्रिया दिए । निर्मलाले मत दिएको भए कार्की नेतृत्वको सरकार जोगिन्थ्यो ।

मत विभाजन हुनुभन्दा अगाडि कोशी प्रदेश सभा भवनमै रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ममता तामाङ र माओवादी केन्द्रका नारायण बुर्जा मगरले विश्वासको मत लिने प्रक्रियामामा भने सहभागिता जनाएनन् ।

बहुमतको सरकार बन्ने गठबन्धनको दाबी
कोशीमा एमाले र राप्रपाको ४६ मत छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनसित पनि सभामुख बाहेक ४६ मत नै छ । तर पनि गठबन्धनका नेताहरुले भने बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखले उपधारा २ अनुासार फेरि पनि नयाँ सरकारको निम्ति आह्वान गरेपछि गठबन्धनको तर्फबाट बहुमतसहित मुख्यमन्त्रीको लागि दाबी पेश हुने बताए ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पनि गठबन्धन दलबाट जसले नेतृत्व गरे पनि बहुमत प्राप्त गर्ने दाबी गरे । राप्रपासमेत नयाँ सरकारमा आउने सम्भावना रहेको भन्दै उनले मध्यावधिमा जाने आफूहरूको चाहना नरहेको सुनाए । तर राप्रपाका सांसद अमरबहादुर विष्टले अहिले नै सरकारमा जाने निर्णय नभएको बताए ।

मुख्यमन्त्री कार्कीले भनेजस्तै सहमतिको सरकार बनाउन सक्ने अवस्था छैन भन्न नसकिने तर गठबन्धन दल भित्रैबाट बहुमत पु¥याएर सरकार बनाउने कोशीस हुने थापाले बताए । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले केन्द्रीय नेताहरुले नै मुख्यमन्त्रीको टुंगो लगाइ दिने बताए ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री पदमुक्त भएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ । सचिवालयको पत्र पााएसँगै नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ परामर्शमा जुटेमन छन् ।