पानी र म !

पानी र म !

कहिरन

– गीताश्री शर्मा

पानी !
तिमी हिमालको हिमगर्भ भएर
यस धरातलमा अवतरण भयौ,
म आमाको गर्भ भएर पृथ्वीमा छु सखी !
फरक छैन केही ……
तिमी हिमालको कोखमा थियौ,
म हिमाल जस्तै अटल आमाको गर्भमा !
तिमी जन्मँदा हिमाल फुट्यो, छहरा बने
सोल्सा, नदी र समुन्द्र बन्यो
विश्व जलाभिषेक भयो, पवित्र बन्यो दुनियाँ,
अनि म आउँदा ?
मात्र मेरी आमा हाँसिन् !
छिमेकी र समाजले
परायाको घर टाल्ने र
समाज जोड्ने साधन भने ।
तिमी आउँदा बन जङ्गल मात्र होइन
कीट-पतङ्ग, माटो र सारा पशुप्राणी
खुशीले बजाए मृदङ्ग बाजागाजा
तर अफसोस्
म त्यही बाटो भएर आउँदा
सन्नाटा छायो, खुशी भएनन् कोही
फरक के थियो तिमी र ममा ?
तिमी स्त्रीलिङ्ग
अनि …म पनि स्त्रीलिङ्ग ।
तिमी तृप्त तिर्खा
म अतृप्त प्यासी ।
तिमी अविरल झरना
म पटक पटक मर्दै ब्यूँझँदै झर्ने मरुभूमि,
तिमीबिना संसार अधूरो छ
मबिना सृष्टि अपूरो छ।

हरेक पल, प्रत्येक दिन,
तिम्रो प्रतीक्षामा रहन्छ प्रकृति
थाक्दिनौ तिमी कहिल्यै
गर्दिनौ कहिल्यै विश्राम तिमी,
मैला-कुचैला र एकदम सफा
सुँगुरले जस्तो उदिनी-उदिनी छान्दिनौ पनि
गरीब-धनी समान छन् तिम्रा
कर्तव्य पथमा निरन्तर लागिरहन्छ्यौ
सम्मान र अभिनन्दन तिम्रा आफ्ना हुन्
वसुधैव कुटुम्बकम्,
तिम्रा पेवा हुन् ।
अनि म पनि अथकित
कर्तव्यमा लीन छु
रातदिन एक गरेर
सबैको हाँसो र आँसुमा हुन्छु
धनी गरिब सबैको सुन्छु
आफु दुख्दा एकान्त चुन्छु।
तिमी जस्तै खट्छु,
फरक फरक आकारमा फेरिन्छु,
कर्तव्य र दायित्वमा बेरिन्छु।
संसारका कुरीति, कुसँस्कार र कुव्यवहार
मेरा आफन्त हुन्,
अभिभारा जन्मँदैको दाइजो हो ।

के गर्छौ ?
नाम उपनाम पनि
अनेक छन् तिम्रा र मेरा
उस्तै उस्तै छ बहाव तिम्रो र मेरो
उस्तै उस्तै छ कथा-व्यथा मेरो र तिम्रो ।
केवल फरक
तिमी… ज जल
अनि म ….ज जननी !!!

 

( गान्तोक, सिक्किम )