एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद

एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद

कहिरन समाचार

सिराहामा एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार राति पौने ९ बजे लहान नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट एक जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।

प्रहरीले धनगढीमाई नगरपालिका-९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेको हो। उनी को १ च ७५७७ नम्बरको एम्बुलेन्सका चालक हुन्। उनले एम्बुलेन्सको पछाडि बिरामी राख्ने ठाउँमा गाँजा बोकेको अवस्थामा फेला परेको हो।

एम्बुलेन्सबाट पाँच वटा बोरामा ९० किलो गाँजा बरामद गरेको हो। यस्तै, उनीबाट २८ हजार रुपैयाँ पनि बरामद गरेको प्रहरी निरीक्षक साहले बताए।

यस घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय लहानबाट भइरहेको बताइएको छ।