किशोरको डकुमेन्ट्रीले जित्यो कान्समा अवार्ड

किशोरको डकुमेन्ट्रीले जित्यो कान्समा अवार्ड

कहिरन समाचार

साउन १२, काठमाडौँ । किशोर श्रेष्ठको डकुमेन्ट्री (वृत्तचित्र) ‘सर्भाइभलः लिभिङ थ्रु कोभिड’ ले कान्स वर्ल्ड फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल भएको छ । श्रेष्ठको वृत्तचित्रले कान्समा उत्कृष्ट कोभिडमा आधारित (बेस्ट कोभिड थिम) वृत्तचित्रको अवार्ड जितेको हो ।

फोटोग्राफरका रुपमा परिचित श्रेष्ठले निर्माण गरेको उक्त डकुमेन्ट्रीमा कोरोना महामारीको समयमा सारा विश्वले भोगेको समस्याको चित्रण गर्दै बाँच्नका लागि गरिएको संघर्षका बीच स्वास्थ्य उपकरणको आवश्यकतालाई देखाइएको छ ।

मास्क, स्यानिटाइजरजस्ता उपकरणले कोरोना महामारीबाट कसरी जोगाउन सक्छन् भन्ने विषय चित्रण गरिएको तीन मिनेट ५० सेकेन्डको उक् वृत्तचित्रले अवार्ड हात परेको हो । उक्त डकुमेन्ट्रीको निर्देशन अफ्जल खानले गरेका छन् । वृत्तचित्र ड्रिमभिजनको ब्यानरमा निर्माण भएको हो ।

हजारभन्दा धेरै फिल्मले सहभागिता जनाएको कान्स वर्ल्ड फेस्टिभलमा उत्कृष्ट ४० फिल्म छनोट भएका थिए । उक्त सूचीबाट ‘बेस्ट कोभिड थिम’ अवार्डका लागि छानिएको फिल्म भने ‘सर्भाइभल’ बनेको हो ।