इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्यूजिल्याण्डका एक पाइलटलाई अपहरण

इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्यूजिल्याण्डका एक पाइलटलाई अपहरण

कहिरन समाचार

इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्यूजिल्याण्डका एक पाइलटलाई अपहरण गरेका छन् । उनले पाइलटलाई मार्ने धम्की दिएका छन् ।

विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा पाइलट फिलिप मर्टेन्सलाई अपहरण गरिएको थियो ।

विमानमा एक बालकसहित पाँच जना यात्रु पनि थिए । यात्रुलाई रिहा गरेको अनुमान गरिएको छ । पृथकतावादीहरूले इन्डोनेसियाले पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्न माग गरेका छन् ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर यसमा निकै मुस्किल छ किनभने इलाकामा विमानमार्फत मात्रै पुग्न सकिन्छ ।

पश्चिमी पपुवामा सक्रिय नेशनल लिबरेशन आर्मीले अपहरणको जिम्मेवारी लिएको छ । इन्डोनेसियाली सरकारले यसलाई आतङ्कवादी समूह मानेको छ ।

नेशनल लिबरेसन आर्मीका प्रवक्ता सेबी साम्बोमले इन्डोनेसियाले ‘अडिग अडान लिए’ र पश्चिम पपुवाको स्वतन्त्रताको लागि वार्ता गर्न असफल भएमा पाइलटको हत्या गरिने धम्की दिएका छन् ।

यसै क्रममा न्यूजिल्याण्ड सरकारले घटनाबारे आफूलाई जानकारी रहेको र इन्डोनेसियामा रहेका आफ्ना राजदूतले पाइलटको परिवारलाई सहयोग गरिरहेको बताएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार उक्त विमान सुसी एयरको थियो, जसले छिमेकी जिल्ला टिमिकाको खानी सहरबाट सामान आपूर्ति गरिरहेको थियो ।

पपुवा क्षेत्र एक डच उपनिवेश हो जुन दुई भागमा विभाजित थियो – पपुवा र पश्चिम पपुवा ।

संयुक्त राष्ट्र सङ्घको निगरानीमा भएको विवादित मतदानपछि यसलाई इन्डोनेसियामा समावेश गरिएको थियो । त्यसयता पृथकतावादी र इन्डोनेसियाली सेनाबीच भिडन्त जारी छ ।

यस्तै, पपुवा र पपुवा न्यु गिनी दुई फरक ठाउँहरू हुन् । पपुवा न्यु गिनी सन् १९७५ मा अस्ट्रेलियाबाट स्वतन्त्र भएको देश हो ।