अविरल वर्षाको कारण काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा

अविरल वर्षाको कारण काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा

कहिरन समाचार

अविरल वर्षाको कारण काँडाघारी स्थित प्रहरी प्रभाग डुबानमा परेको छ । प्रभाग काँडाघारीको एक तलाको पूरै भाग डुबाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
प्रहरीको मेशको खाद्यान्न, भाँडावर्तन र फर्निचर बगाएको छ । कार्यालयसँगै राखिएको ३ वटा मोटरसाइकल पनि बगाएको छ ।

अविरल वर्षाको कारण मनोहरा खोला किनारका बस्तीमा धेरै क्षति गरेको छ । बाढीका कारण अलपत्र परेका मानिसहरु र चौपायालाई सुरक्षाकर्मीको सहयोगमा उद्दार गरिएको काँडाघारीका स्थानीय टंक पौडेलले बताए ।

काँडाघारी प्रभागको बेस सेट भिजेर काम नगर्ने भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले खहरे भन्दा माथी राडारबाट बाढीले अलपत्र परेका दुईजनाको उद्दार गरेको छ । गोठाटारबाट ७ वटा गाडीलाई डुबानबाट बाहिर निकालिएको छ ।

काँडाघारी स्थित हरहर महादेव नजिकै ७ जना मानिसहरु अलपत्र परेका छन् । अलपत्र परेकाहरुको उद्दार भइरहेको एसपी मैनालीले जानकारी दिए । डुबान स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका उद्धारकर्मी खटिएका छन् ।

कागेश्वरी मनोहरा–७ विष्ट गाउँमा एक तलाका अधिकांश घरहरु डुबानमा परेका छन् । त्यहाँ उद्धारकर्मी परिचालन गरिएको छ ।