उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

उत्कृष्ट पुनरागमन जित निकाल्दै रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

कहिरन समाचार

रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिडमाथि ३–१ को पूनरागमन जित निकाल्दै रियलले अन्तिम चारमा स्थान पक्का गरेको हो।

घरेलु मैदानमा रियललाई जिताउन रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरेका थिए। एट्लेटिकोका अल्भारो मोराटाले गरेको गोल सान्तवना भयो।

सान्टियागो बर्नबेउमा बिहीबार रातिको मड्रिड डर्बीमा खेलको १९औं मिनेटमा मोराटाले गोल गर्दै  एथ्लेटिकोले सुरूआती अग्रता लिएको थियो।

खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म १ गोलले पछि परेको रियलले ७९औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो।

लुका मोड्रिचको पासमा रोड्रिगोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेल अतिरिक्त समयमा लम्बियो।

९९औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटियो। स्टेफन साभिच चार मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिँदा रियलले त्यसको फाइदा उठायो।

१०४ औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै रियललाई २–१ ले अघि बढाए।  त्यसपछि अतिरिक्त समयको थप गरिएको पहिलो मिनेटमा भिनिसियसले गोल गर्दै रियलको जित पक्का गरे।

गए रातिनै भएको अर्काे क्वाटरफाइनलमा एथलेटिको बिल्वाओले भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

यससँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पुरा भएको छ। यसअघि क्याटलान क्लब बार्सिलोना र ओसासुनाले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्।