हुन्डी कारोबार गरेको आरोपमा तीन जना पक्राउ

हुन्डी कारोबार गरेको आरोपमा तीन जना पक्राउ

कहिरन समाचार

प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

भारतको राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौंको बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरि दुलाल र रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदीप आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई हुन्डी कारोबार गरेको आरोपमा नगदसहित सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

नरदेवी क्षेत्रमा हुन्डी कारोबार हुने गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। सो सूचनाको आधारमा कार्यालयबाट विशेष टोली खटिएको थियो।

सो टोलीले राजु अग्रवाल तथा उनका सहयोगी कर्मचारीबाट ५०० र १००० दरका ७४ लाख रुपैयाँ फेला पारेको हो।

त्यस्तै विभिन्न व्यक्तिको नाममा काटिएका विभिन्न वित्तिय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको नौ वटा चेक फेला पनि बरामद भएको हो।

उनीहरूमाथि थप अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको प्रहरीले जनाएको छ।