सगरमाथा जलविद्युतको आइपिओ खुल्यो

सगरमाथा जलविद्युतको आइपिओ खुल्यो

कहिरन समाचार

सगरमाथा जलविद्युत कम्पनीको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आइपिओ निष्कासन गरेको हो।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि बिक्री गरेको कम्पनीले जनाएको छ।

उक्त सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतममा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था रहेको छ।

सो सेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा आयोजना प्रभावितले भने फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले आयोजना स्थल, इलाम जिल्ला, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यस्तै, प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाइ आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई इक्रा नेपालले ‘इक्रा एनपी आइआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।