रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घट्यो

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घट्यो

कहिरन समाचार

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको हवाई भाडा घटेको छ । कोरियन एयरलाइन्स र सरकारबीच भएको समझदारी अनुसार भाडा घटाइएको हो ।

अब प्रति कामदारले ८९५ अमेरिकी डलर (एक डलर बराबर १३०.८५ रुपैयाँ हुँदा १ लाख १७ हजार १०८.३३ रुपैयाँ) तिर्नुपर्ने हुन्छ । यसअघि ईपीएस मार्फत कोरिया जाने कामदारहरूले १२०० डलरभन्दा बढी पैसा तिर्दै आएका थिए ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले उक्त सम्झौता एक वर्षसम्मको लागि लागू हुने बताए । सम्झौता अनुसार ईपीएस मार्फत कोरिया गएका श्रमिकको मृत्यु भएमा शव नेपाल ल्याउँदा लाग्ने हवाई भाडामा २० प्रतिशत छुट समेत दिइने छ ।

यसअघि नेपाली श्रमिकहरू निकै महँगो हवाई भाडा तिर्दै कोरिया जान बाध्य थिए । हवाई भाडा निकै महँगो भएको भनेर व्यापक जनगुनासो आएपछि सरकारले हवाई भाडा घटाउने विषय पहल थालेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस कोरिया शाखाले हवाई भाडा घटाउन पहल गरेको थियो ।

कोरोना महामारीपछि कोरियाले सिधा हवाई उडानमार्फत मात्र नेपाली कामदार लैजाने सर्त राखेको थियो । कोरियन एयरले मात्र नेपालबाट सिधा उडान गर्दै आएको थियो । जसले गर्दा भाडा महँगो हुन पुगेको थियो । ट्रान्जिट गरेर कामदार पठाउन नपाइने भएपछि नेपाली श्रमिकहरू एक मात्र एयरबाट कोरिया जान बाध्य छन् ।