सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिइने

सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिइने

कहिरन समाचार

सत्ता साझेदार दलहरूको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको बुझिएको छ । त्यो सहमति अनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ ।यसअघि एमालेले उपप्रधानसहित चार मन्त्रीको शपथ गराएको छ भने माओवादीबाट प्रधानमन्त्री र एक उपप्रधानमन्त्री, रास्वपाले उपप्रधानमन्त्री र जनमतले एक मन्त्रीको शपथ गराइसकेको छ । उपप्रधानमन्त्रीहरूको मन्त्रालय तोकिए पनि शपथ लिएका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन । बाँकी १७ वटा मन्त्रालय भागबन्डा गर्नुपर्ने छ । अहिलेसम्म एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने सहमति छ ।गत पुस ११ गते प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिमण्डललाई पूर्णता दिने सत्ता साझेदार दलहरुबीच सहमति भएको थियो । सोही सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन् ।