विश्वासको मत माग्दै सत्ता साझेदार दलहरू

विश्वासको मत माग्दै सत्ता साझेदार दलहरू

कहिरन समाचार

सत्ता साझेदार दलहरूले संसदमा प्रतिनिधित्व गर्ने अरू दल तथा स्वतन्त्र सांसदहरूसँग पनि विश्वासको मत माग्ने निर्णय गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलहरूका शीर्ष नेताको आइतबार साँझ बालुवाटारमा बसेको बैठकले अन्य दलहरूसँग पनि सरकारलाई विश्वासको मत माग्ने निर्णय गरेका हुन्।

गत पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्ने बेला ७ दल र केही स्वतन्त्र सांसद गरी १६९ सांसदले समर्थन गरेका थिए। यो संख्या कायमै राख्दै अन्य दलबाट विश्वासको मत ल्याउन पहल गर्ने सत्ता साझेदार दलहरूको निर्णय छ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलहरूसँग विश्वासको मत माग्न पहल गर्ने सत्ता साझेदार दलहरूको तयारी छ।

साथै उनीहरूले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्नेसमेत निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सत्ता साझेदार दलहरूबीच सङ्घीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा छलफल भएको थियो। सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिट्टै सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत उपस्थित थिए।

बैठकले सातवटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटमा सहमति जुटाउने भनिए पनि निर्णय हुन सकेको छैन।

माओवादी, राप्रपा र जसपाका सांसदहरुले समर्थनमा आइतबार प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।