नबल नेपालको निर्देशनमा तयार भएको लघु सिनेमा ‘चौतारी’ युट्युबमा सार्वजनिक

नबल नेपालको निर्देशनमा तयार भएको लघु सिनेमा ‘चौतारी’ युट्युबमा सार्वजनिक

कहिरन समाचार

माटो सुहाउँदो चलचित्र निर्देशनमा खप्पिस मानिने निर्देशक नबल नेपालको निर्देशनमा तयार भएको लघु सिनेमा ‘चौतारी’ युट्युबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक चौतारीमा उमेरले उत्पन्न गर्ने आवेग र त्यसपछिको नियतिलाई केलाउने प्रयास गरिएको छ ।

युवा उमेरमा हुने आकर्षण, प्रेम र धोकाका किस्सालाई भिडियोमा अर्थपूर्ण रूपमा देखाउने प्रयास गरिएको छ । साथै सन्तानको भविष्यका लागि अभिभावकले गरेको त्यागलाई पनि भिडियोमा स्थान दिइएको छ ।

भिडियोको कथालाई  दिनेश न्यौपाने र नबल नेपालले सङ्कलन गरेका हुन। १६ मिनेट अवधिको उक्त लघु सिनेमा हरि ढकाल र गीता ढकालले  निर्माण गरेका हुन भने मदन काश्यपले खिचेका छन्।

वसन्त भट्ट,  मिना ढकाल, विकास लामिछाने  र सिम्रन खड्काको  अभिनय रहेको  ‘चौतारी’मा  प्रिया न्यौपानेको अतिथि भूमिका रहेको छ। नवीन निरौलाको सम्पादन रहेको चौतारीले भोकाएका दर्शकहरूलाई मनोरञ्जन दिने कुरामा निर्देशक नेपाल ढुक्क देखिन्छन् ।