पाँचथरमा आगलागी: २ को मृत्यु

पाँचथरमा आगलागी: २ को मृत्यु

कहिरन समाचार

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउनेटारमा गए राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।

एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन्।

स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो।

मेघबहादुरकी बुहारी २३ वर्षकी आसाङसिं थेवे र २२ वर्षकी छोरी ममता गुरुङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका छन्।

आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ। अन्नपात, गरगहना, किराना पसलसमेत गरी करिब ५० लाख बराबरको धनमाल क्षति भएको हुन सक्ने प्रहरीले जनाएको छ।

बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ।

आगलागी नियन्त्रण गर्न ३० जना प्रहरी परिचालन गरिएको थियो। स्थानीय, २ वारुणयन्त्र र प्रहरीको सक्रियतामा आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो।

अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ।