तीन पटक मन्त्री भएकी ज्वालाकुमारी साह

तीन पटक मन्त्री भएकी ज्वालाकुमारी साह

कहिरन समाचार

नेकपा (एमाले) की सांसद ज्वालाकुमारी साह पुस ३ गते पार्टीको कार्यक्रममा सहभागी हुन बारा सदरमुकाम पुगेकी थिइन्। उनी बारा-३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

कार्यक्रम भइरहेकै बेला दिउँसो साढे २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको फोन आयो। त्यसपछि मात्रै उनले आफू मन्त्री बन्न लागेको भनेर थाहा पाइन्।

‘मैले घेराबन्दीकै बीचमा निर्वाचन जितेको हो। मन्त्री बनाउन पार्टी अध्यक्ष केपी ओलीजीको ठूलो देन छ। त्यो दिन म काठमाडौंबाट बारा आएकी थिएँ। साढे २ बजे बाको फोन आयो,’ मन्त्री भइसकेपछि जिल्ला पुगेकी साहले भनिन्, ‘त्यसपछि हतार/हतार काठमाडौं आइपुगें। पहिला कृषि मन्त्री हुँदा पनि मलाई थाहा थिएन। केपी बाले यसपटक पनि मलाई सरप्राइज दिनुभयो।’

साह २०७८ जेठमा केही दिनका लागि कृषि मन्त्री बनेकी थिइन्।

आफू कहिले पनि नेताको घरमा मन्त्री चाहियो भनेर माग्न नगएको उनले बताइन्। आफ्नो क्षमता, योग्यता र निरन्तर पार्टीमा खटेको कारण मन्त्री बनेको उनको दाबी छ।

त्यसो त २०६७ मा राज्यमन्त्री हुँदासमेत उनलाई यस्तै सरप्राइज भएको थियो। संविधान सभामा उनी माओवादीको तर्फबाट समानुपातिक सांसद थिइन्। खेतमा धान काटिरहेको बेलामा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको फोन आयो। उनी र उनका श्रीमान् अमृत शर्मा बजगाईं रातारात गरेर मोटरसाइकलमा काठमाडौं आइपुगे। निर्धारित समयमा पुग्न नसकेपछि उनको शपथ केही दिन पर सरेको थियो। त्यसपछि साह साढे चार महिना भूमि सुधार र डेढ महिना पर्यटन राज्यमन्त्री बनिन्।

माओवादी पृष्ठभूमिकी साहले २०७७ मा एमाले रोजेकी हुन्। उनी २०७४ को निर्वाचनमा बाराबाट मधेस प्रदेशको सांसद बनेकी थिइन्। २०७० मा भने उनी पराजित भएकी थिइन्। माओवादीमा लागे पनि उनको पारिवारिक पृष्ठभूमि भने एमाले हो। उनका बुवा यदु साह कानु र आमा श्रीपती देवी साह कानु एमालेको राजनीतिमा सक्रिय थिए। २०३८ सालमा किसान आन्दोलनका क्रममा वीरगन्जमा जेल पर्दा ज्वाला आमाको गर्भमा थिइन्। बुवा जेलमै रहेको बेलामा उनको जन्म भयो। आफूभन्दा अघिका दुई दाजु बितिसकेका थिए। अहिले साहका १ भाइ र दुई बहिनी छन्। बुवाको पृष्ठभूमिकै कारण उनलाई राजनीतिमा लाग्न प्रेरणा मिलेको उनले बताइन्।

‘मेरा बुवा-आमा राजनीतिमा सक्रिय भएकाले पढाइ सकेर मात्रै राजनीतिमा लाग्न मलाई घरबाट दबाब थियो। तर भित्रभित्रै माओवादीको राजनीतिमा लागेको थिएँ,’ उनले भनिन्, ‘मेरो नाम एक्स्पोज भइसकेपछि म भूमिगत भएँ। मरे सहिद हुन्छु, बाँचिएछ भने देशको लागि केही गर्छु भनेर २०५४ देखि भूमिगत भएको हो।’

एमालेको अञ्चल सदस्य भइसकेका ज्वालाका बुवाको २०६६ सालमा निधन भएको हो।

भूमितग रहेकै अवस्थामा २०६० सालमा पार्टीकै सहकर्मी अमृत शर्मा बजगाईंसँग साहको विवाह भयो।

जनयुद्धको क्रममा उनले बिर्सनै नसक्ने एउटा घट्ना सुनाइन्। जुन घट्नाले उनलाई अहिले पनि झस्क्याइरहन्छ। २०६१ सालमा उनी गर्भवती थिइन्। नेपालमा सुत्केरी हुन अफ्ठ्यारो पर्ने भएपछि भारतको मोतिहारी गएकी थिइन्। तर सुत्केरी भएको दुई दिनमै अस्पतालमा सुरक्षाकर्मीको निगरानी बढेपछि कतै रिक्सा चढ्ने कतै हिँड्ने गरेर दुई दिनमा नेपाल आइपुगेकी थिइन्।

अहिले उनका तीन छोरा छन्। साहका श्रीमान अमृत शर्मा बजगाईं पनि एमालेमै सक्रिय छन्। उनी एमाले बारा जिल्लाका उपसचिव हुन्।

२०७७ मा सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भंग गरिदिएपछि उनले एमाले रोजेकी हुन्। आफ्ना बुवा एमालेको अञ्चल स्तरको नेता भए पनि एमालेका नेताहरूसँग साहको खासै चिनजान थिएन।

एमाले नेता ईश्वर पोखरेलसँग उनको बेलाबखत भेट भएको थियो। उनलाई एमालेमा आउन प्रेरित गरेको भने केपी ओलीकै कारणले हो।

‘तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग मेरो भेट भएको थिएन। उहाँको भाषण सुनेकी थिएँ। अध्ययन धेरै गर्नुहुन्छ भन्ने थाहा थियो। म केपी बाको बोलीसँग प्रभावित थिएँ,’ उनले भनिन्,‘बरू सांसद पद गए जान्छ भनेर एमालेमा लागेको हो। केपी बाजस्तो राजनेता चाहिन्छ बरू साधारण सदस्य भएर बाको अभियानमा लाग्छु भनेर लागेको हो।’

आफ्ना पूर्वनेताको नेतृत्वमा सरकारमा गइन्छ भनेर उनले कल्पना गरेकी थिइनन् तर पार्टी अध्यक्षले विश्वास गरेपछि मन्त्री भइन्। नेतृत्व जसको भए पनि काम गर्नु ठूलो कुरा रहेको उनले बताइन्।

‘काम गरेर देखाउने हो। कसको नेतृत्व भन्ने ठूलो कुरा होइन। हिजोको दिनमा के भयो भन्नेमा भन्दा पनि अहिले काम गर्ने हो,’ उनले भनिन्,‘प्रचण्डजीको नेतृत्वमा भए पनि हामी सफल हुनुपर्छ भन्ने हो। म एउटा मान्छे सफल हुनेभन्दा पनि टिम सफल हुने महत्वपूर्ण हो।’