संसदीय दलको नेता चयन गर्ने दिन यादव जनकपुरमा

संसदीय दलको नेता चयन गर्ने दिन यादव जनकपुरमा

कहिरन समाचार

जनता समाजवादी पार्टी नेपालले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । तर सो पार्टीका अध्यक्ष उपेन्द्र यादव आज बिहानै जनकपुर उडेका छन् ।

आफू संसदमा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनपुर उडेका हुन् । जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरुले भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि भनेपछि अध्यक्ष यादवले भनेका थिए ‘म अहिले संसदमा छैन, बैठकमा बस्न मिल्दैन साथीहरुले गरिहाल्नु हुन्छ नि ।’

संसदीय दलको नेता चयन गर्नका लागि आज ११ वजेदेखि निर्वाचन प्रकृया सुरु हुन्छ भने तीनवजे मतदान हुने समय तालिका तय भएको छ । तर त्यसअघि नै उपेन्द्र यादव काठमाडौँ छाडेर गएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको नेतामा सहमतिका लागि दुई तीन प्रयास गरे तर सहमति हुन सकेन । त्यसपछि उनी जनकपुर उडेका हुन् ।

चुनावी प्रकृयामा जानुअघि नेताका लागि सहमतिको प्रयास हुने बताइएको छ । अध्यक्ष यादवले भने, ‘आज सहमतिमै संसदीय दलको नेता चयन हुन्छ । संसदीय दलको नेता चयनका लागि संसदमा रहेका पार्टीका नेताहरु छलफलमा छन्, उनीहरुले सहमतिमा टुग्यांउनेमा म विश्वस्त छु ।’