नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदै

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदै

कहिरन समाचार

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको नेताको लागि हेटौंडा स्थित संसदीय दलको कार्यालयमा विहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचनको लागि कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा रहेको निर्वाचन समितिले मंगलबारबाट चुनावी प्रक्रिया थालेको थियो । समितिले मंगलबार मतदाता नामावली प्रकाशन गरेको थियो भने आज उम्मेदवारी तथा मतदानको कार्यक्रम रहने निर्वचन समितिका सदस्य एवम् कांग्रेस प्रदेश समिकिा महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेबाट उम्मेदवारी दर्ता खुल्ला हुनेछ भने दिउँसो २ बजेदेखि मतदान कार्यक्रम संचालन हुनेछ । मतदानका लागि एक घण्टाको समय निर्धारण गरिएको छ । जस अनुसार दिउँसो ३ बजे मतदानको कार्यक्रम सम्पन्न हुनेछ ।

केन्द्रीय सत्ता गठबन्धन अनुसार प्रदेश सरकार निर्माण भएको खण्डमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने निश्चित छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसले आन्तरिक निर्वाचन नै गरेर दलको नेता छनोट गर्न लागेको हो । ३७ सांसद रहेको कांग्रेसको दलको नेताका लागि मकवानपुर क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नुवाकोट क्षेत्र नम्बर–२ को –ख)बाट निर्वाचित सांसद बहादुर सिंह लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दुबै नेता कांग्रेस संस्थापन समूहका हुन् । बानियाँ कांग्रेस बागमती प्रदेश सभापति हुन् भने लामा कांग्रेस केन्द्रीय सदस्य हुन् । दुबै जना प्रदेशको नेतृत्व गर्न आफ्नो आवश्यकता रहेको बताउँदै आएका छन् । दुबै जना आफ्नो पक्षमा माहौल सिर्जना गर्न छुट्टा छुट्टै भेटघाट र बैठकहरु आयोजना गरिरहेका छन् ।

बानियाँ भर्सेज लामा कसको कति सम्भावना ?

संसदीय दलको नेता बन्ने कसरतमा रहेका लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए । निर्वाचनको टिकट वितरणको समयमा लामा प्रतिनिधिसभा सदस्य पदको लागि दावी गरिरहेका थिए । नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्य पदमा दावी गर्दै आएका उनलाई कांगेसको आन्तरिक विवाद समाधान गर्न मुख्यमन्त्रीको अफरसहित प्रदेशसभा सदस्य पदमा चुनावमा प्रतिस्पर्धा गराइएको थियो ।

यता प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीको दावेदार थिए । मुख्यमन्त्री बन्ने पटक पटकको उनको प्रयास असफल भएको थियो ।

केही समय अघिमात्र कांग्रेस मााअ‍ेवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन नेतृत्वको सरकार गठनका लागि उनी मुख्य दावेदार थिए । सो समयमा पहिलो चरणमा एकीकृत समाजवादीका पाण्डेलाई सघाउने र दोस्रो चरणमा कांग्रेसबाट बानियाँ बन्ने लिखित सहमति समेत भएको थियो । तर, सहमति कार्यान्वयन नहुँदा उनी मुख्यमन्त्री बन्न सकेनन् ।

निवर्तमान मुख्यमन्त्री पाण्डेसँग प्रदेशको नेतृत्व आधाआधा कार्यकाल गर्ने लिखित सहमति भए पनि बानियाँलाई अन्तिम समयमा मुख्यमन्त्री बन्नबाट रोकिएको थियो । जसका कारण यस पटक आफ्नो दावेदारी स्वाभाविक भएको बताउँदै आएका थिए । गठबन्धन भत्किएकाले कांग्रेसको सरकार बन्ने सम्भावना न्युन छ ।

संसदीय दलको नेताका लागि सांसदहरु मंगलबार नै हेटौंडा आउनेक्रम बढेको थियो । दलका नेता चुन्न हेटौंडा आइपुगेका सांसदहरुलाई नेपाली कांग्रेस मकवानपुरले स्वागत एवम् सम्मान व्यक्त गर्न कार्यक्रम आयोजना गरेको थियो ।

बानियाँको निर्देशनमा भएको उक्त कार्यक्रमा २६ जना सांसदरु उपस्थित भएका थिए भने मंगलबार नै बानियाँले हेटौंडास्थित एक होटलमा रात्रिभोजसहित स्वागत गरेका थिए । उक्त कार्यक्रममा करिव ३० जना सांसदहरु उपस्थित भएको कांग्रेस बागमती प्रदेशका एक सदस्यले बताए ।

उनका अनुसार कार्यक्रमको अन्तिमसम्म २३ जना सांसदको उपस्थिती रहेको थियो । केही सांसदहरु मतदानको लागि बुधबार मात्र हेटौंडा आइपुग्ने भएकाले निर्वाचनको कार्यक्रममा बानियाँको पक्षमा सांसदहरुको संख्या थप हुने उनले बताए । बानियाँलाई कांग्रेस संस्थापन इतर समूहको समेत समर्थन रहेको छ भने प्रकाशमान सिंह समूहको अधिकांश सदस्यहरु बानियाँको पक्षमा खेलेका छन् ।

यता केन्द्रीय सदस्य लामाको पक्षमा रहेका सांसदहरु भने मंगलबार हेटौंडा आएनन् । उनीहरु लामाको आतिथ्यतामा चितवनस्थित सौराहामा बसेका छन् । लामालाई सघाउन कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सहितको टोली सौराहामा रहेको सो समूहका एक नेताले बताए । लामाको पक्षमा बहुमत सांसदहरु रहेको उनको दावी छ ।