सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता

सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता

कहिरन समाचार

जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता लिएका छन् । राजविराजस्थित जनसम्पर्क कार्यालयमा राखिएको ‘जनआवाज पेटिका’मा आएको गुनासो अध्ययन गर्दै उनले समाधानको लागि पहल थालेका हुन् ।

शनिवार पेटिकमा आएका विभिन्न गुनासालाई अध्ययन गर्दै उनले सम्बन्धित व्यक्तिलाई आफैले सम्पर्क गरेका थिए । गुनासो गरेका व्यक्तिलाई फोन सम्पर्क गरेर आवश्यक जानकारीसहित समाधान गर्ने प्रयास गरिएको पार्टीका नेता एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्य महेश यादवले बताए ।

उनको अनुसार जनआवाज पेटिकामा हालसम्म ३५ देखि ४० वटा गुनासाहरु आएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारदेखि घरायसी झगडासम्मको गुनासो आएको नेता महेश यादवले बताए । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भएका सुविधाहरु नपाएको बारे पनि गुनासो आएको छ । त्यहाँका डाक्टरले समयमा उपचार नगर्ने, भएका सुविधा पनि विरामीलाई नदिने जस्ता गुनासो आएको उनले बताए ।