नेप्सेमा सामान्य करेक्सन

नेप्सेमा सामान्य करेक्सन

कहिरन समाचार

साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य करेक्सन आएको छ।

आज नेप्से परिसूचक ६.४३ अंक अर्थात् ०.३३ प्रतिशतले घटेर १९५८.९४ बिन्दुमा पुगेर बन्द भएको छ।

आइतबार ४३ अंकले बजार बढेकाले नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बजार घटेको हो।

लामो समयदेखि बजार घट्दै आएकाले लगानीकर्ता अझै विश्वस्त हुन सकेका छैनन्। सोही कारण अलिकति नाफा हुने वित्तिकै प्रोफिट बुकिङका लागि लगानीकर्ता हतारिँदा आज सेयर बजार दबाबमा परेको हो।

नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा वृद्धि भएको छ।

आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँ पुगेको छ।

यस दिन २२४ वटा धितोपत्रको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच भएको छ।

सोमबार धैलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयरमूल्य ८.१३ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य १९८ रुपैयाँ १० पैसामा बन्द भएको छ।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ६.९३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य तीन हजार ६४५ रुपैयाँ कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २०७ रुपैयाँमा झरेको छ।

त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५.६६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २३५ रुपैयाँ ८० पैसा कायम भएको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री जाल्पा सामुदायिक लघुवित्तको भएको छ। कम्पनीको तीन हजार ६४५ रुपैयाँमा १५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ६७५ रुपैयाँमा ११ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ।

यस दिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले घटेको हो।