एट्लेटिकोले युरोपा लिग पनि खेल्न नपाउने

एट्लेटिकोले युरोपा लिग पनि खेल्न नपाउने

कहिरन समाचार

च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरिएको स्पेनिस क्लब एट्लेटिको मड्रिडले युरोपा लिगसमेत खेल्न नपाउने भएको छ । मंगलबार एफसी पोर्टोसँग २–१ गोलले पराजित भएसँगै एट्लेटिको युरोपको दुवै प्रतियोगिताबाट बाहिरिएको हो ।

गत हप्ता बायर लेभरक्युजनसँग बराबरी खेल्दै च्याम्पियन्स लिगबाट बाहिरिएको एट्लेटिकोले युरोपा लिगमा छनोट हुने आशा राखेको थियो । तर, मेहेदी तारेमी र स्टेफन इउस्टाकिओले गोल गर्दै एट्लेटिकोको सपना चकनाचुर पारे । खेलको इन्जुरी समयमा इभान मार्कानोले आत्मघाती गोल गरे पनि एट्लेटिको खेलमा फर्कन सकेन ।

समूहको अर्को खेलमा लेभरक्युजनले दोस्रो स्थानमा रहेको क्लब ब्रगसँग गोलरहित बराबरी खेलेपछि समूह बीमा एट्लेटिको पुछारमा रहन बाध्य बन्यो । सन् २०११ मा एट्लेटिकोको नेतृत्व सम्हाले यता डिएगो सिमिओनीको टोली च्याम्पियन्स लिगको समूह चरणमा चौथो बनेको यो पहिलो अवसर हो ।

एट्लेटिकोले यो सिजन सबै प्रतियोगिताका पछिल्ला १२ खेलमध्ये ४ खेलमा मात्र जीत हासिल गरेको छ ।
यो समूहबाट एफसी पोर्टो १२ अंक बटुल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ भने ब्रग ११ अंकसहित दोस्रो स्थानमा रह्यो ।