बेल्जियन फरवार्ड रोमेलु लुकाकु विश्वकपअघि घाइते

बेल्जियन फरवार्ड रोमेलु लुकाकु विश्वकपअघि घाइते

कहिरन समाचार

कतारमा फिफा विश्वकप २०२२ सुरू हुने केही साता बाँकी रहेको अवस्थामा बेल्जियन फरवार्ड रोमेलु लुकाकु घाइते भएका छन्।

इटालियन क्लब इन्टर मिलानले एक विज्ञप्ति जारी गर्दै लुकाकुले ह्यामस्ट्रीङमा चोट बोकेको जनाएको छ। शनिबार सिरी ए अन्तर्गत साम्पडोरियाविरुद्ध लुकाकु खेलको अन्तिम २० मिनेट मैदान प्रवेश गरेका थिए। तर उक्त खेल दौरान नै उनी घाइते हुन पुगे।

‘रोमेलु लुकाकुलाई ह्यामस्ट्रिङमा अर्को चोट लागेको छ’, इन्टरनाजियोनाले सोमबार भने, ‘यो विश्वकप अघि बेल्जियमको लागि ठूलो चिन्ताको विषय हो।’

जारी सिजन चोटकै कारण लुकाकुले इन्टरको १२ खेल गुमाइसकेका छन्। २९ वर्षीय फरवार्डले विश्वकपमा बेल्जियमको आक्रमण जिम्मेवारी सम्हाल्ने आँकलन गरिएको थियो। तर प्रारम्भिक परिक्षणले उनी विश्वकपबाट बाहिर हुने सम्भावना रहेको छ ।

इन्टरले केहि दिनमा पुन: उक्त चोटको अवस्था हेर्ने जानकारी दिएको छ। त्यसपछि मात्र उनको विश्वकप खेल्ने वा नखेल्ने टुंगो लाग्नेछ। हाललाई भने उनी इन्टरको च्याम्पियन्स लिग खेलका लागि उपलब्ध हुने छैनन्।

कतारमा तीन साताभन्दा कम समयमा विश्वकप सुरू हुन्छ। बेल्जियमले समूह एफ मा नोभेम्बर २३ मा क्यानडासँग पहिलो खेल खेल्नेछ। त्यसपछि मोरक्को र क्रोएसियासँग खेल्नेछ।