गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कति सहज?

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कति सहज?

कहिरन समाचार

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक यहाँका मतदाताले रोचक ढङ्गले नियालिरहेका छन्।

नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छिन्।

यो क्षेत्रमा स्वतन्त्र ३ जनासहित १३ जना चुनावी मैदानमा छन्। तीमध्ये कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिएको छ।

हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नम्बर १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए।

विसं २०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले उपाध्यायलाई तीन सय ५८ मतले पराजित गर्दै विजयी भएका थिए।

विसं २०७४ को निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका पोखरेललाई पराजित गर्दै कांग्रेसको साख फर्काएका थिए।

एक लाख २४ हजार सात सय २९ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नं १, २ र ३ सहित २९ वटा वडा छन्।

यो निर्वाचन क्षेत्रको प्रदेश १ मा ६१ हजार ५८ कूल मतदाता सङ्ख्या रहेकोमा महिला मतदाताको सङ्ख्या २९ हजार दुई सय ४३ रहेको छ।

गत स्थानीय चुनावको मत हेर्दा यहाँ एमाले बलियो देखिन्छ।

एमालेले ३१ हजार तीन सय ४० मत आएको थियो। यस्तै नेपाली कांग्रेसको २८ हजार छ सय १४ मत आएको थियो। यहाँ नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरूले सात हजार दुई सय ७१ मत ल्याएका थिए। यहाँ कांग्रेस र माओवादी गठबन्धन छ भने एमाले र जसपाबीच पनि चुनावी गठबन्धन छ। जसपाले गत स्थानीय चुनावमा चार हजार तीन सय ४६ मत ल्याएको थियो।

त्यस्तै प्रदेश २ तर्फ ६३ हजार छ सय ७१ कूल मतदाता सङ्ख्या रहेकोमा ३० हजार पाँच सय ६५ महिला मतदाता सङ्ख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत नगेन्द्र केसरी पोखरेलले बताए।

क्षेत्रभरि जम्मा ६८ मतदान केन्द्र रहने निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नम्बर २ ले जनाएको छ।

झापासँग सिमाना रहेको रतुवा, बीचमा बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका बासिन्दा हरेक वर्षायाममा नदी कटान र डुबानको मार खेप्न बाध्य छन्।

खोलाको कटान र डुबान नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेको छ। क्षेत्र नम्बर २ को प्रदेश १ मा प्रदेशसभा सदस्यमा तीन स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा उम्मेदवारी परेको छ।

तीमध्ये नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र एमालेका दानबहादुर कार्कीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ। उप्रेती अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हुँदा कांग्रेसका शिवकुमार गनगाईसँग पराजित भएका थिए।