राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता

कहिरन समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च गएकी थिइन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । डा.तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलार्य निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।  तर मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की रिट लिएर अदालत गएकी थिइन् ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको रिट निवेदक कार्कीले बताइन् । मंगलबार एक न्यायाधीशको इजलासमा उनको रिटमाथि सुनुवाइ हुनेछ । अन्तरिम आदेशको माध्यमबाट उम्मेदवारी कायम राख्न आदेश आएमा उनको उम्मेदवारी कायम रहन पनि सक्नेछ ।

रिटमा नेपाल मेडिकल काउन्सिलको बैठकमा भाग लिएवापत पाइने भत्ता लाभको पद हो कि होइन भनेर व्याख्या गर्नुपर्ने हुन्छ ।