रुपन्देही–३ : खाँण र बोहोराबीच प्रतिस्पर्धा

रुपन्देही–३ : खाँण र बोहोराबीच प्रतिस्पर्धा

कहिरन समाचार

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।

पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर्ष भए पनि एमालेको साथ पाएर सशक्त दाबेदारका रूपमा देखिएका छन् । यस क्षेत्रमा कांग्रेसका बालकृष्ण खाँण पनि बलिया उम्मेदवार हुन् ।

०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा बोहोराले एमालेका घनश्याम भुसालसँग प्रतिस्पर्धा गरेका थिए । तत्कालीन वाम गठबन्धनका उम्मेदवार भुसालसँग बोहोरा ५ हजार ४४४ मतान्तरले पराजित भएका थिए । अहिले भने कांग्रेससँगै बोहोराको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।