डेंगी संक्रमण भएका पत्रकार राना उपचारका क्रममा निधन

डेंगी संक्रमण भएका पत्रकार राना उपचारका क्रममा निधन

कहिरन समाचार

डेंगीको संक्रमणका कारण रूपन्देहीका पत्रकार टेक मास्की रानाको निधन भएको छ।  ३० वर्षदेखि रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रानाको बुधबार बिहान निधन भएको हो।

डेंगी संक्रमणसँगै जण्डिस, निमोनिया र मिर्गौलामा समेत समस्या देखिएपछि उनलाई असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो।

मास्की रानाको बुधबार बिहान उपचारकै क्रममा अस्पतालमै निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव बिनोद परियारले जानकारी दिए।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं ३ बारिचौर स्थायी घर भएका मास्की रानाले रूपन्देहीबाटै पत्रकारिताको सुरूआत गरेका थिए।

आर्थिक अवस्था कमजोर रहेको कारण उनको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो।

नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य रहेका मास्की राना लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए।

केही वर्षअघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा र दुई छोरी छन्। सरल, सादगी, पेशाप्रति बफादार र लगनशील रानाको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको महासंघले जनाएको छ।