प्रिमियरमा सेलिब्रिटीले रुचाए महजोडीको ‘महापुरुष’

प्रिमियरमा सेलिब्रिटीले रुचाए महजोडीको ‘महापुरुष’

कहिरन समाचार

काठमाडौं । महाजोडी अभिनित फिल्म ‘महापुरुष’को सोमबार काठमाडौंमा प्रिमियर गरिएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्म कात्तिक ११ गते अर्थात् भाइटीकाको भोलिपल्ट रिलिज हुँदैछ । फिल्मलाई प्रिमियरमा सेलिब्रिटीहरुले रुचाएका छन् । कलाकार किरण केसीले महापुरुष आफूलाई अहिलेसम्मकै उत्कृष्ट फिल्म लागेको प्रतिक्रिया दिए । ‘फिल्मको प्रशंसा शब्दमा गर्न सक्दिन । हरिवंशको अभिनय जीवन्त छ । प्रदीपले सुहाउँदो रोल र कथामा फिल्म तयार गरेका छन्,’ उनले भने ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले कथा र पात्र चयनमा फिल्ममा निकै ध्यान दिइएको बताए । ‘हरिवंश दाइको धेरैपछि यस्तो रुपमा अभिनय हेर्न पाइयो । फिल्ममा मदन दाइ लगायत अन्य क्यारेक्टर पर्फेक्ट हुनुहुन्छ । धन्यवाद टिमलाई,’ निश्चलले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको कास्टिङ ‘पर्फेक्ट’ रहेको बताइन । उनले नवकलाकार अरुण क्षेत्री र अञ्जना बराइलीको अभिनयको प्रशंसा गर्दै फिल्म उद्योगमा स्वागत रहेको बताइन् । अभिनेत्री केकी अधिकारीले फिल्ममा उठान गरिएको विषयवस्तुले युवालाई सोच्न बाध्य बनाउने बताइन् ।