लेवान्डोस्कीको ६ सय गोल पुरा

लेवान्डोस्कीको ६ सय गोल पुरा

कहिरन समाचार

रोबर्ट लेवान्डोस्कीले आफ्नो करियरको ६ सयौँ गोल पुरा गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लेरियालमाथि सहज जीत हासिल गरेको छ । बिहीबार राति भएको खेलमा दुई गोल गरेसँगै लेवान्डोस्कीको गोल सङ्ख्या ६ सय १ पुगेको हो ।

सन् २००० पछि ६ सय गोल गर्ने उनी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि मात्र तेस्रो खेलाडी हुन् । बार्साका लागि उनले १४ खेलमा १६ गोल गरिसकेका छन् भने उनले बायर्न म्युनिखका लागि ३७५ खेलमा ३४४ गोल गरेका थिए । त्यस्तै बोरुसिया डर्टमण्डका लागि १८६ खेलमा १०३ गोल गरे । जर्मनी आउन अघि उनले जिस्क प्रस्काउका लागि २१ र लेच पोजनानका लागि ४१ गोल गरेका थिए । पोल्याण्डको राष्ट्रिय टोलीका लागि उनले १३४ खेलमा ७६ गोल गरिसकेका छन् ।

बार्सिलोनाले पहिलो हाफको अन्त्यतिर ७ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । पोलिस स्ट्राइकरले ३१ र ३५ औँ मिनेटमा गोल गरे भने अन्सु फातीले ३८ औँ मिनेटमा गोल गर्दै बार्साको जीत सुनिश्चित गरे । बार्सिलोनाले पछिल्ला तीन खेलमा जीत हासिल गरेको यो पहिलो खेल हो । जीतपछि बार्सा रियल मड्रिडभन्दा ३ अंकले पछि दोस्रो स्थानमा रहेको छ ।