प्रधानमन्त्री देउवा पोखरा आउँदै

प्रधानमन्त्री देउवा पोखरा आउँदै

कहिरन समाचार

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन्।

पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य एवं प्रतियोगिताका समारोह उपसमितिका संयोजक एकेन्द्रबहादुर कुँवरले बताए।

प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गर्नेछन्।

संयोजक कुँवरकाअनुसार समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ।

यसअघि गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य हुनेछ।

मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह हुने समारोह उपसमितिका संयोजक कुँबरले बताए।

समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिनेछ।

समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा आतिशबाजीसहित समारोहको समापन हुने बताइएको छ।