सहकारीका कर्मचारीमाथि गोली प्रहार

सहकारीका कर्मचारीमाथि गोली प्रहार

कहिरन समाचार

सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए।

लालबन्दी नगरपालिका वडा नम्बर २ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनी आफ्नै कार्यालयमा काम गरिरहेको बेलामा तीन जनाले गोली प्रहार गरेर भागेका थिए।

अज्ञात समूह भारतीय नम्बरको निलो रंगको मोटरसाइकलमा चढेर फरार भएका छन्।

गोली हानेर भागेको भन्ने खबर पाएपछि प्रहरी टोलीले उनीहरूको खोजी गरिरहेको छ। प्रहरीले सबै इकाइलाई अलर्ट गरी चेकजाँच गरिरहेको छ।

घाइतेको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि काठमाडौं रिफर गरिएको छ। उनीमाथि तीन राउन्ड गोली प्रहार भएको छ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम छ। उनलाई जहाजबाट काठमाडौं ल्याइँदै गरेको डिएसपी यादवले जानकारी दिए।